समाचार सारांश
- लामो समयदेखि अलपत्र रहेको हुलाकी सडकअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्म सडक विस्तारको प्रक्रिया अघि बढेको छ, जसका लागि २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।
- दाङ, बाँके र बर्दियामा कुल ७५ किलोमिटर सडक तथा ३७ वटा पुल निर्माण गर्ने योजना रहेको छ भने काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सडक निर्माणपछि ग्रामीण क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, व्यापार र यातायात पहुँचमा सुधार भई क्षेत्रीय विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

राप्तीसोनारी (बाँके) : लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक अव विस्तार हुने भएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना राप्तीसोनारी–१ खोकरी हासबाससम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।
कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये बाँकेमा करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण गरिने बताए । यसैगरी दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित निमार्ण गर्नको लागि कुल २९ अर्ब स्रोत सुनिश्चत भएको उनले जानकारी दिए ।
कार्यालय प्रमुख भण्डारीले भने–‘सडकका लागि टेण्डर हुने प्रक्रियामा छ । परियोजनामार्फत अबको तीन वर्षमा दाङ, बाँके र बर्दियामा काम सम्पन्न हुनेछ । यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ । यसको मूल उद्देश्य नै जिल्ला सदरमुकाममा पूर्वदेखि पश्चिमसम्म जोड्ने हो, जसले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ ।’
सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ । रुखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ । निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ ।


हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको समाजसेवी तथा नेपाली काग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताए ।
उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालाको सपनाको सडक अब निर्माण हुने पक्का भएको बताए । उनले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि यहाँका ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा त्यहाँका जनताको जीविकोपार्जनमा निकै सघाउ पुग्ने बताए । ‘सडक बनेपछि आर्थिक तथा सामाजिक रुपमा यो क्षेत्रको कायापलट हुने विश्वास छ’, उनले भने ।
राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए । उनले सडक बनेमा ग्रामीण क्षेत्रका कृषिउपजको बजारीकरण, शिक्षा, स्वास्थलगायत सेवामा पहुँच विस्तार हुने बताउदै जिल्ला सदरमुकाम नेपालगञ्जसंग जोड्ने छोटो बाटो हुने कुरामा जोड दिए ।
यसैबीच सो सडकको लागि स्रोत सुनिश्चित भएपछि हुलाकी सडक आयोजना, स्थानीयबासी र पत्रकारलयातको टोलीले स्थलगत अनुगमन गरेको छ । कुसुमको झुलुङ्गे पुल तरेर भम्का हुँदै उनीहरुको टोली बैजापुरसम्म प्रस्तावित सडकमा पैदल हिडेको स्थानीय गहेन्द्र कुमार खड्काले जानकारी दिए ।


