समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगर अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरे।
- बजेटमा आन्तरिक आय २५ करोड, घरजग्गा रजिष्ट्रेशनबाट १४ करोड आम्दानीको अनुमान गर्दै चालु खर्च, वडा कार्यालय, नगरस्तरीय कार्यक्रम र विषयगत शाखाका लागि बजेट विनियोजन गरिएको छ।
- कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, रोजगार, वातावरण संरक्षण, फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, सुशासन र सेवा प्रवाहलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको १९ औ नगर अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नगरको नीति तथा बजेट प्रस्तुत गरेका छन् ।
उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । संघ र प्रदेशबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदान रकम रु. ७६ करोड ४८ लाख ५० हजारसहित उक्त आकारको बजेट प्रस्तुत गरिएको बताए ।
प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ २५ करोड अनुमान गरिएको छ भने घरजग्गा रजिष्ट्रेशनतर्फ १४ करोड अनुमान गरिएको छ । यस्तै चालूतर्फ ४२ करोड २५ लाख ५० हजार, वडा कार्यालयलाई २१ करोड, नगर स्तरीय तथा प्रवद्र्धनात्मकतर्फ १९ करोड ९० लाख, विषयगत शाखालाई ८ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।

बजेट अघि नगर प्रमुख विष्टले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उप प्रमुख कमरुद्दीन राईले राजिनामा दिएपछि दुबै भूमिकामा नगरप्रमुख विष्टले नै नीति तथा बजेट प्रस्तुत गरेका हुन ।
नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन, भूमी व्यवस्था तथा सहकारी, श्रम, रोजगार तथा गरिवी निवारण, स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा खानेपानी, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले जानकारी दिए ।
यसैगरि यातायात, विद्युुत तथा स्वच्छ उर्जा, वन, वातावरण संरक्षण, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्यांक, योजना र विकास व्यवस्थापनलाई पनि नेपालगञ्ज उपमहानगरको प्राथमिकतामा परेको उनले बताए ।


