समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधानका नाममा नागरिकलाई विस्थापित गर्ने काम भइरहेको बताएका छन्।
- उनले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जबर्जस्ती हटाउने कार्य उचित नभएको र यसले नागरिकलाई अलपत्र पार्ने चेतावनी दिए।
- कार्यक्रममा उनले भोजप्रसाद श्रेष्ठको ‘अठोट’ पुस्तकलाई प्रेरणादायी भन्दै युवा पुस्ताले सिक्नुपर्ने बताए।

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गरेका छन् ।
प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन ।
उनले भूमिहीन र सुकुम्वासीको समस्या समाधान नागरिकलाई विस्थापित गरेर सम्भव नहुने स्पष्ट पारे । ‘पहाडबाट झरेर यहाँ बसोबास गरेका, मेहनत गरेर घडेरी जोहो गरेका र विदेश गएर घर बनाएका मानिसहरु अव्यवस्थीत बसोवासी हुन । उनिहरुलाई हुकुमबासीको नाम दिएर जवरजस्ती घरमाथि डोजर चलाउने काम भइरहेको छ,’ उनले भने,‘अव यस्ता नागरिकको अवस्था के हुने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्ने काम राज्यको जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । ‘रुपन्देहीको अवस्था के हुन्छ ? नागरिकलाई अलपत्र पार्ने, विल्लिवाठ बनाउने काम राज्यले गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।
उनले अव्यवस्थित बसोबासीलाई पुराना राजनीतिक दलका कार्यकर्तासँग जोडेर गलत व्याख्या गर्न खोजिएको भन्दै यस विषयमा बुद्धिजीवीहरुले आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले विगत दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दाबी गर्दै विकासको प्रभावकारी मोडल प्रस्तुत गर्ने व्यक्तिका रूपमा लेखक भोजप्रसाद श्रेष्ठको प्रशंसा गरे । ‘नगर प्रमुख रहँदा उहाँले देशकै ध्यान आकर्षित गर्ने गरी काम गर्नुभयो । नतिजा दिने नेताको रूपमा उहाँ स्थापित हुनुभएको छ,’ उनले भने,‘भोजप्रसाद श्रेष्ठको अनुभव र क्षमतालाई सही ढंगले उपयोग गर्न सके लुम्बिनी प्रदेशलाई ठूलो लाभ पुग्छ ।’
उनले ‘अठोट’ पुस्तकलाई प्रेरणादायी कृति भएको उल्लेख गर्दै विशेषगरी युवा पुस्ताले यस्ता कृतिबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।

