समाचार सारांश
- लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम बजेट निर्माणको आधार हुने बताएका छन् ।
- बैठकमा थारु समुदायका परम्परा संरक्षण सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनुका साथै विभिन्न आयोगका वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ ।

दाङ : लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३–०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन ।

बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको जवाफ दिदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।
विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए । आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नुभएको थियो भने मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए ।
यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गरेका छन् । आगामी बैठक सूचनाद्वारा जानकारी गराइने जनाइएको छ ।

