समाचार सारांश
- नेपाल–भारत सीमाक्षेत्रमा मानव बेचबिखन नियन्त्रणका लागि गुलरियामा समन्वय बैठक सम्पन्न भयो।
- बैठकले सीमापार सहकार्य, सूचना आदानप्रदान र सचेतनामूलक कार्यक्रम सुदृढ गर्ने निर्णय गर्यो।
- सरोकारवालाले उद्धार, पुनःस्थापना र समुदायस्तरमा संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए।

बर्दिया : नेपाल र भारतका सरोकारवालाहरुले मानवबेचविखन नियन्त्रण गर्न सहकार्य गर्ने सहमती जुटेको छ । सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा नेपाल भारत समन्वय बैठकमा सो सहमती जुटेको हो ।
बाँके यूनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो नेपाल भारत समन्वय बैठकमा नेपाल–भारत सीमाक्षेत्रमा सक्रिय मानव बेचबिखन सञ्जाललाई कमजोर पार्न तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय मजबुत बनाउने उद्देश्यका साथ उक्त बैठक आयोजना गरिएको हो ।
बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू तथा मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा भारतीय संस्था दिहातका प्रमुख सञ्चालन अधिकृत दियांशु चतुर्वेदी तथा मोहम्मद इमरान अन्सारीले मानव बेचबिखनको वर्तमान अवस्था, चुनौतीहरू तथा नेपाल–भारतबीचको सीमापार समन्वयका व्यवहारिक अनुभवहरू साझा गरे ।

नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले मानव बेचबिखन नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै पछिल्लो समय बढ्दो लागूऔषध दुव्र्यसनको समस्याप्रति ध्यानाकर्षण गराए । उनले स्थानीय तह र सुरक्षा निकायलाई प्रभावकारी सचेतनामूलक अभियान सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रमको सहजीकरण माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले गरेका थिए भने सञ्चालन बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकेले गरेका थिए ।
बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार सो समन्वय बैठकले सरोकारवालाबीच सीमापार सामाजिक सञ्जाल समन्वय समूह गठन गर्ने, पीडित तथा जोखिममा रहेका व्यक्तिहरूको सूचना आदानप्रदान प्रणाली सुदृढ गर्ने, संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम तथा विभिन्न अभियान दिवसहरू मनाउने, नेपाल–भारत सरोकारवालाबीच नियमित समन्वय बैठकलाई निरन्तरता दिने, समुदायस्तरमा सचेतना कार्यक्रम विस्तार गर्ने र उद्धार, पुनःस्थापना एवं पुनःएकीकरणमा सहकार्य सुदृढ गर्ने निर्णय गरेको छ ।
सो बैठकलाई मानव बेचबिखन नियन्त्रणका लागि द्विपक्षीय सहकार्य र सामूहिक प्रयासलाई थप मजबुत बनाउँदै सीमावर्ती क्षेत्रमा जोखिममा रहेका समुदायको संरक्षणमा महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
कार्यक्रममा क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, फिल्ड सुपरभाइजर सवित्रा भाट र प्रमिशा थारुलगायतको पनि सहभागिता रहेको थियो ।


