समाचार सारांश
- बाँके क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले निर्वाचनमा गरेको पहिलो प्रतिबद्धता पूरा गरेका छन्।
- उनले मालपोत कार्यालयमा निःशुल्क लालपूर्जा श्रेस्ता कायम गराउन हेल्प डेस्क स्थापना गरेका छन्, जसबाट सेवाग्राहीलाई लेखापढी खर्च तिर्नु नपर्ने भएको छ।
- हेल्प डेस्क उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, नेपालगञ्जका मेयर तथा मालपोत कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो।

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले निर्वाचनको बेलामा गरेको पहिलो प्रतिबद्धता पूरा गरेका छन् ।
एमालेबाट प्रत्यासी रहेका राईले आफूले निर्वाचन जितेमा १५ दिनभित्र मालपोत कार्यालयमा हेल्प डेस्क राखेर निःशुल्क जग्गाधनी प्रमाण पूर्जाको श्रेस्ता कायम गराउने प्रतिबद्धता गरेका थिए ।
निर्वाचन जितेलगत्तै राईले प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गरेका छन् ।

हेल्प डेस्कको उद्घाटन गर्दै नवनिर्वाचित सांसद राईले अहिले जनशक्ति कम रहेकाले सकेसम्म लेखापढी कर्मचारीलाई पैसा दिन नसक्नेलाई सेवा लिन आग्रह गरे । उनले भने,‘अहिले जनशक्ति कम छ । जोसँग पैसा छैन, तिनीहरुले सेवा लिनु होला । जनशक्ति बढाएपछि सबैलाई समेट्छौँ ।’
जेनजी आन्दोलनका बेला लालपूर्जा जलेपछि अहिले त्यो बनाउन मालपोत कार्यालयमा भीड लागेको छ । जग्गाधनी लालपूर्जाको श्रेस्ता कायम गर्न लेखमपढी व्यवसायीले २ हजारदेखि ३ हजारसम्म लिने गरेको पाइन्छ । निःशुल्क हेल्प डेस्कबाट सेवा लिदा त्यो पैसा लाग्दैन ।
हेल्प हेस्क उद्घाटनमा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्जका मेयर प्रशान्त विष्ट, मालपोतका प्रमुख सविनसिंह चौधरीलगायतको उपस्थिति थियो ।


