
नेपालगञ्ज : हिन्दु मुस्लिम एकता र नेपाल भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतिकको रूपमा बाँकेको नरैनापुरमा १५१ वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ । प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलीफा नूर अहमद शाहको मजारमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेला शनिबार रातिबाट सुरु भएको हो । सो मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हजारौं हिन्दु मुस्लिम धार्मिक श्रद्धालुहरूको सहभागिता रहेको छ ।
नेपालगन्जदेखि करिब ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उक्त मेलाको उदघाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले गरे। मेला एकसाता सम्म सञ्चालन हुने जनाइएको छ । सो अवसरमा बोल्दै अध्यक्ष शाहले खलीफा नूर अहमद शाहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको बताए ।

नरैनापुरका हिन्दु मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु मुस्लिमसँगै सीमापारी भारतका पनि सयौं हिन्दु मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाको रूपमा पनि मनाइने गरिएको उनको भनाइ थियो । प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दु मुस्लिम जो कोहीको पनि मनोकामना पूरा हुँदै आएकोले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
विशेषगरी राति लाग्ने सो मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छ भने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको समाधीमा फातिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतो, वडाध्यक्षहरू मसुद अहमद शाह र इशाक जोलाहा, पत्रकार आलम खान तथा मेला संयोजक गुफरान शाह लगायतको सहभागिता रहेको थियो ।
मेलामा सहभागी श्रद्धालुहरूलाई खानेपानी, आवास तथा स्वास्थ्य उपचारका लागि विभिन्न शिविरहरू सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।


