समाचार सारांश
- नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले निर्वाचन नजिकिँदै गर्दा बाँके क्षेत्र नं. २ मा घरदैलो अभियान तीव्र बनाएका छन्।
- नेपालगञ्ज वडा नं. १ मा घरदैलो र कोण सभामार्फत उनले विकास, महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्यका मुद्दा उठाएका छन्।
- निर्वाचित भएपछि स्थानीय पूर्वाधार सुधार र प्रसुति सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

नेपालगञ्ज : निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं २ का सबै मतदातासम्म पुग्न सक्रियता बढाएका छन । उम्मेदवार राईले शानिबार नेपालगञ्जको वडा नं १ का विभिन्न टोलहरूमा घरदैलो गरेका छन् ।
वडा नं १ को चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोल लगायतमा एमालेका उम्मेदवार राईले घरदैलो गरेका हुन । सहरी विकास मन्त्रालयको नेतृत्वमा पुग्दा वा भौतिक विकास मन्त्रालय सम्हाल्दा वडा नं १ मा विकासका थुप्रै परियोजनाहरू ल्याएका राईलाई घरदौलोका क्रममा मतदाताहरूले वडाका समस्याहरू सुनाएका थिए ।
घरदैलोपछि वडा नं १ कै सुन्दर टोलमा चुनावी कोण सभा आयोजना गरिएको थियो । जहाँ उम्मेदवार राईले महिलाहरूका एजेन्डामा आफूलाई केन्द्रित गरेका थिए । उनले महिलाहरूको सशक्तिकरण, शिक्षा र स्वास्थ्यमा उनीहरूको सहज पहुँच तथा सहज जीवनयापनका उपायका सन्दर्भमा चर्चा गरे ।

‘महिला सशक्तिकरणका सवालमा हामी तुलनात्मकरूपमा पछाडि छौं । मातृ मृत्युदर लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । त्यसमा पनि बाँकेमा धेरै रहेछ । समयमै प्रसुति सेवा नपाउँदा धेरैले ज्यान गुमाउनु परेको छ ।’, राईले भने, ‘ म स्थानीय तहहरूमा सुविधासम्पन्न प्रसुति सेवा विस्तार गर्न प्रयास गरिरहेको छु ।’ उनले भेरी अस्पतालमा भौतिक संरचना निर्माणमा प्रगति भएपनि विशेषज्ञ सेवाको अझैं पनि अभाव रहेको बताए ।

राईले वडा नं १ मा विकासका मामिलामा सुन्दर टोल सबैभन्दा पछाडि परेको महसुस आफूले गरेको स्वीकार्दै राईले निर्वाचित भएपछि त्यस टोलको बाटोघाटो, नाला लगायत संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच राईले आजै यस क्षेत्रका बुद्धिजीविहरूसँग पनि छलफल गरेका छन् । यहाँको शैक्षिक विकासका सम्बन्धमा बुद्धिजीविहरूबाट प्राप्त सुझाव अनुसार आफू अघि बढ्ने राईले प्रतिबद्धता जनाएका छन् ।


