समाचार सारांश
- भारतसँग जोडिएका बाँकेका सबै सीमा नाका निर्वाचनका लागि ७२ घण्टा बन्द गरिने भएका छन्।
- फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत रोकिँदा सवारी सञ्चालनमा पनि कडाइ गरिनेछ।
- अत्यावश्यक सेवाबाहेक अन्य सवारी निषेध गर्दै सुरक्षा व्यवस्था कडा पारिने प्रशासनले जनाएको छ।

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको हो ।
प्रशासनको सूचना अनुसार फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने छन् ।

सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।
यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।
एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ्गद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।


