
नेपालगञ्ज : बाँकेका तीनै वटा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा बाँके निर्वाचन क्षेत्रनं २ को कार्यालय स्थापना भएको बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचन सम्वन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल लगायत सहभागी थिए ।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँककोे क्षेत्रनं १ मा ६२ हजार ३ सय ५८ पुरुष ६२ हजार ३ सय ६७ महिला र २ जना अन्य गरी १ लाख २४ हजार ७ सय २७ मतादाता छन् ।
यसैगरी क्षेत्रमै २ मा ५७ हजार १ सय १७ पुरुष ५१ हजार १ सय ६७ महिला र ६ जना अन्यगरी १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् ।
बाँके क्षेत्र नं तीनमा ५८ हजार ६ सय ६४ पुरुष ५९ हजार ६ सय ८९ महिला र १ अन्य गरि १ लाख १७ हजार ३ सय ३४मतदाता रहेका छन । बाँकेमा १ सय ३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।



