बाँकेका तीनवटै क्षेत्रमा सर्वदलीय बैठक

निष्पक्ष निर्वाचनका लागि दलहरूको सामूहिक प्रतिबद्धता

लक्ष्मी तिमिल्सेना १५ माघ २०८२, बिहीबार १७:५१
 

नेपालगञ्ज  : आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शि र धाँधलीरहित बनाउन बाँके प्रशासनले सक्रियता बढाएको छ । जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा बिहिवार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएका छन् ।

उनले निर्वाचन आचारसंहिताको उल्लङघनमा शुन्य सहनशिलताको निति अवलम्बन गर्ने बताए । तिनैवटा बैठकमा सहभागी दलका प्रतिनिधि र उम्मेदवारहरूलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचनको निष्पक्षतामा शङ्का गर्ने ठाउँ नराख्न आग्रह गरे ।

उहाँले निर्वाचन आयोगले जारी गरेका नियमहरूको नियमन र अनुगमनमा प्रशासनले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भने,–‘निर्वाचनलाई भयरहित र मर्यादित बनाउनु हाम्रो साझा दायित्व हो, यसका लागि आचारसंहिता पालनामा सबै पक्ष गम्भीर हुनुपर्छ । प्रचार–प्रसारका क्रममा अन्तराट्रिय सवारीसाधन तथा व्यक्तिको प्रयोगले निर्वाचन कानुन र अन्य कानुन समेत आकर्षित हुन्छ । कानुनको अनविज्ञता क्षम्य हुदैन ।’

२०४८ सालदेखि ८२ सालसम्मको निर्वाचनमा आईपुग्दा समयक्रमसंगै निर्वाचन निकै समृद्व र मर्यादित हुदै आएको उनको भनाई थियो । उनले जिल्लाको भौगोलिक र सुरक्षा संवेदनशीलताका कारण देखिन सक्ने व्यावहारिक कठिनाइहरूबारे दलहरूलाई आश्वस्त पार्नुका साथै एकिकृत सुरक्षा योजना सन्चालनमा रहेको जानकारी समेत दिए ।


राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रशासनको यो कदमलाई सकारात्मक रूपमा लिँदै निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
यद्यपी दलका प्रतिनिधिहरुले निर्वाचन प्रचार–प्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनहरूको प्रयोग खुलेआम भइरहेको तथा प्रचार सामग्रीको व्यापक दुरुपयोग समेत देखिएको बताएका थिए । यस्तो अवस्थामा मुख्य निर्वाचन कार्यालयबाट प्रभावकारी अनुगमन नहुनु दुखद भएको उनीहरूको भनाइ थियो । उनीहरूले आचारसंहिता बनाइए पनि त्यसको उल्लंघन गर्नेहरूलाई कस्तो कारबाही हुने, कस्तो दण्डको व्यवस्था छ भन्ने कुरा व्यवहारिक रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनका लागि समान रूपमा नियम लागू हुनुपर्ने माग गरेका थिए ।

बाँके जिल्लाका प्रमुख निर्वाचन आयुक्त दिपक कुमार दाहालले सबै उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्नका लागि अपिल गरे । साथै उनले विचारधारा फरक भएपनि अहिलेको सबैको धर्म भनेको सभ्य र मर्यादित रुपले निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरे ।

४ गतेभन्दा अघि प्रचारप्रसारको कुनै पनि काम गर्न नगर्नका लागि समेत जानकारी दिदैं उनले सबै दल तथा स्वतन्त्र उम्मेद्वारहरुबाट आचारसंहिता उल्लङ्घन गर्दैनौं भन्ने प्रतिबद्धताको माग समेत गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय जनमोर्चा लगायतका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरूको सहभागितामा सर्वदलीय छलफल भएको हो । प्रशासनले जिल्लाका सबै निर्वाचन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्दै निर्वाचनको तयारीलाई अन्तिम रूप दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोङ्गगुक–जीबीयू साझेदारीले इन्डो–कोरियाली बौद्ध शैक्षिक सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास

१५ माघ २०८२, बिहीबार १७:५१
नेपालगञ्ज  :  डोङ्गगुक–जीबीयू साझेदारीमा ग्रेटर नोएडामा इन्डो–कोरियाली बौद्ध शैक्षिक सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास गरिएको छ । कोरिया गणराज्यको डोङ्गगुक विश्वविद्यालयको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले गौतम बुद्ध विश्वविद्यालयको भ्रमण गर्दै र विश्वविद्यालयका वरिष्ठ अधिकारीहरूसँग अवस्थित समझदारी पत्रको समीक्षा गर्न र विशेष गरी बौद्ध अध्ययन र सम्बद्ध विषयहरूको क्षेत्रमा शैक्षिक र अनुसन्धान […]