
नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज विभिन्न व्यक्तिहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय बाँके–२ मा २२ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि ठूला राजनीतिक दलहरू सहित स्वतन्त्र उम्मेदवारहरूले समेत आफ्नो मनोनयन दर्ता गराएका छन्। प्राप्त विवरण अनुसार यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा लगायतका दल र स्वतन्त्र गरी कुल २२ जनाको उम्मेदवारी परेको जानकारी प्रमुख निर्वाचन अधिकृत दिपक दाहालले जानकारी दिए ।

प्रमुख दलहरू मध्ये नेपाली कांग्रेसबाट सुधांसु कोइराला, नेकपा (एमाले)बाट मोहम्मद इस्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विवेक कुमार श्रेष्ठ तथा जनता समाजवादी पार्टी नेपालबाट कमरद्दिन राई लगायतले उम्मेदवारी दर्ता गराए ।
यसैगरि जसपाबाट सरस्वती प्रसाद वर्मा, मजदुर किसान पार्टी प्रकाश शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी ऋषिराज देवकोटा, श्रम संस्कृति पार्टी रामचरण चौधरी, राष्ट्रिय जनमोर्चाबाट जगदीश ढकाल, नेकपा माओवादीबाट महेन्द्रप्रसाद चन्द, नेपाल जनता पार्टी विजयकुमार गुप्ता, आम जनता पार्टीबाट अब्दुल अमर राई, उज्यालो नेपालबाट शैलेन्द्र कुमार कर्ण, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट माजित अली शेख, राष्ट्रिय मुक्ति मोर्चा नेपालबाट बाबु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलबाट सीताराम यादव, जनमत पार्टीबाट मोहम्मद आजाद शाही, राष्ट्रिय जनमत पार्टीबाट इरफान अहमद शेखले पनि दर्ता गराएका छन् ।
यस क्षेत्रमा दलीय उम्मेदवार बाहेक स्वतन्त्र रूपमा उठ्नेहरूको पनि उपस्थिति रहेको छ । यसरी स्वतन्त्र रूपमा उठ्नेहरू ३ जना छन् । गोपाल प्रसाद गिरी, सौरभ जंग शाह तथा सन्तोष कुमार चौधरीले स्वतन्त्र रूपमा उठेका छन् ।
निर्वाचन कार्यालयले दाबी विरोध र फिर्ताको समयपछि अन्तिम नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत दाहालले जानकारी दिएका छन् ।


