
भारतको राजधानी दिल्लीको लालकिल्लानजिक सोमवार राति आठ जनाको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै कोणबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ ।
सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यातायातका केन्द्रहरू र मानिसहरू धेरै भेला हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ । भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। दिल्लीमा लाल किल्ला मेट्रो स्टेशनबाहिर विस्फोटन, कम्तीमा आठजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन् । उक्त स्थान तीन दिनका लागि बन्द गरिएको छ।
उक्त घटनाको अनुसन्धानमा विभिन्न सुरक्षा निकाय संलग्न भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री अमित शाहको नेतृत्वमा उच्चस्तरीय सुरक्षा समीक्षा बैठक हुँदै छ । शाहले राति नै घटनास्थलको निरीक्षण गरेका थिए । विस्फोटन के कारणले भयो भन्ने स्पष्ट भइसकेको छैन । तर गृहमन्त्री शाहले त्यो पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान सुरु भएको छ । “हामी सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गर्छौँ। सबै विकल्पबारे तुरुन्तै अनुसन्धान हुने छन् र त्यसको नतिजा जनतासामु ल्याउने छौँ,” गृहमन्त्री शाहले भनेका छन्।

सोमवार राति विस्फोट भएको ठाउँमा जलेका र क्षतिग्रस्त भएका कारहरूका अवशेषहरू बिहानसम्म हटाइएको छैन । घटनामा घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । घटनास्थलमा छरिएको भग्नावशेषमा अनुसन्धानकर्मीहरूले विस्फोटको कारण पत्ता लगाउने सङ्केतको खोजी गरिरहेका छन् । दिल्ली प्रहरीका एक अधिकारीका अनुसार घटनास्थलमा अझसम्म कुनै छर्रा फेला परेको छैन ।
“हामी घटनास्थलमा जाँच गर्दै छौँ,” प्रहरी अधिकारी राजा बान्ठियाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने । “विधिविज्ञान प्रयोगशालाले विस्फोटक पदार्थको अंश निकाल्दै छ । त्यो के भन्ने कुरा हामी एक वा दुई दिनमा बताउन सक्छौँ ।” दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू शव राखिएको स्थानमा भेला भएका छन् । शोकमग्न आफन्तहरू शव बुझ्ने तयारीमा छन् ।
मुगल साम्राज्यका समयमा बनेको यो संरचना ३५० वर्षभन्दा पुरानो हो । यसको वरिपरिको क्षेत्र निकै व्यस्त रहन्छ । यो पुरानो दिल्लीका रूपमा चिनिने राजधानी सहरको उत्तरी क्षेत्रमा अवस्थित छ । यो क्षेत्रमा भारतीय राजधानीका अन्य ऐतिहासिक सम्पदाहरू पनि छन् ।विस्फोटको घटनापछि भारतका कैयौँ ऐतिहासिक स्थल र विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाइएको छ ।


