
काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाएका छन् ।
जेन्जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाएका हुन ।
राष्ट्रपतिको सचिवालयले दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएको छ । जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति र अझ द्वन्द्व चर्किने हो कि भन्ने जनमानसमा चिन्ता छाइरहेका बेला राष्ट्रपतिसँग दलका नेताहरूले भेट्न लागेका हुन ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका छन् ।
यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी अघि बढाएको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको जानकारीमा आएको छ ।


