यातायात कार्यालय नेपालगञ्जले कारकाँदोबाट सेवा दिन सुरु

सदरलाइन संवाददाता २६ आश्विन २०८२, आईतवार १७:०७
 

नेपालगञ्ज : गत भदौ २४ गते अन्दोलनका क्रममा आगजनी भएको यातायात व्यवस्था कार्यालय नेपालगञ्जले अब कारकाँदोमा रहेको एक सरकारी भवनबाट सेवा दिन सुरु गरेको छ ।

कार्यालय स्थापना भएदेखि नै भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपल्ट आइतबारबाट सरकारी भवनबाट सेवा दिन सुरु गरेको । कार्यालय सञ्चालनका लागि नेपालगञ्ज–१८ स्थित साविकको सीप विकास तालिम केन्द्रको भवनमा कार्यालय स्थापना गरीएको छ ।

कार्यालय सार्नका लागि दुई दिन सेवा प्रवाह स्थगित गरेको कार्यालयले आज आइतबारदेखि सरकारी भवनबाटै सेवा सुरु गर्ने जानकारी दिएको छ । कार्यालय नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ९ स्थित एक निजी भवनमा वार्षिक करिब १२ लाख रूपैयाँँ भाडा तिरेर सञ्चालन हुँदै आएको थियो । कार्यालयको भवन सेवाग्राहीमैत्री नहुँदा उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको थियो ।

सुरुमा कारकाँदोमा पर्ने सुर्खेतरोडमा एउटा निजी घरमा सञ्चालन भएको कार्यालय पछि भाडा सम्झौता अन्त्य भएपछि वडा नम्बर ९ बाँके गाउँस्थित एक निजी भवनमा सारिएको थियो ।


उपयुक्त भवन खोजेर सिफारिस गर्न प्रदेश मन्त्रालयले भनेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीप विकास तालिम केन्द्रलाई सिफारिस गरेको थियो । कार्यालयका निमित्त कार्यालय प्रमुख कालीदास बस्यालले हाल ब्लुबुक नविकरण, रुट इजाजत र सवारी जाँचपाससम्बन्धी सेवा मात्रै सञ्चालनमा रहने जानकारी दिए ।

यसैबीच सो आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डलले सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएको छ ।

प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवाहरुलाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको थियो । सोही अनुसार अत्यावश्यक सेवा मध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको हो ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा झण्डै ३ वर्षमा विभिन्न प्रकारका २३ अवैध हतियार नियन्त्रण

२६ आश्विन २०८२, आईतवार १७:०७
नेपालगञ्ज  : बाँके प्रहरीले बितेका तीन आर्थिक वर्षमा विभिन्न प्रकारका २३ अबैध हतियार नियन्त्रणमा लिन सफल भएको छ । बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, […]