
नेपालगञ्ज : बडा दशैमा बाँकेमा स्थापना गरिएको दुर्गाको मूर्ति विसर्जनको क्रममा गतशुक्रबार नेपालगञ्जको केही ठाउँमा विवाद हुँदा भएको झडपका कारण बाँके प्रशासनले ३ पालिकाको ५ वडामा अनिश्चितकालीन निषेधज्ञा जारी गरेको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी सूचना अनुसार बाँकेको डुडवा गाउपालिकाको वडानं. ६ नेपालगञ्जको वडानं. १४, १५ र २३ तथा नरैनापुरको वडानं.५ मा अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको हो ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार एक सूचना जारी गरेर समाजमा सदभाव भड्काउने, अशान्ति फैलाउने र द्वन्द्व बढाउने भ्रामक सूचना र पोष्ट सामाजिक सञ्जालमा नगर्न चेतावनी दिएको छ ।
शनिवार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको निषेधाज्ञा डुडवा –६ र नेपालगञ्ज –१४ को सम्पूर्ण क्षेत्रमा, नेपालगञ्ज १५ को सुईया पिप्रहवामा, वडा २३ को भज्जु पुरवा, जङ्गली पुरवा र लोहार पुरवा तथा नरैनापुर –५ को सम्पूर्ण क्षेत्रमा लगाइएको हो ।
प्रशासनद्वारा जारी निषेधित क्षेत्रमा बिनास्वीकृति पाँच जनाभन्दा बढी मानिस भेला भएमा वा निषेधित कार्य गरेमा कानुनअनुसार कारवाही गरिने उल्लेख छ ।

सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेले पनि एक सूचना जारी गरेर वर्तमान सङ्क्रमणकालीन अवस्थाको फाइदा उठाउँदै केही व्यक्ति र समूहले सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट विभिन्न धर्म सम्प्रदायबिच सदभाव भड्काउने स्टाटस नराख्न, भ्रामक सूचनाहरुको समाचार प्रकाशन प्रसारण गर्न, समाजमा अशान्ति फैलाउने काम नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले अशान्ति फैलिने भ्रामक सूचना र पोष्ट तथा समाचार सामाजिक सञ्जालमा राख्नेलाई कानुनसम्मत कारवाही गरिने चेतावनी दिँदै सद्भाव बिग्रिन नदिन सबैले प्रयास गर्न आग्रह गरे ।
यसअघि शुक्रवार दुर्गा मूर्ति विसर्जनको जुलुस निकाल्ने क्रममा नेपालगञ्ज १५ पिप्रहवामा विवाद हुँदा ३० जना घाइते भएका थिए । नेपालगञ्जको फुलटेक्रामा पनि ढुङ्गामुढा गरिएको थियो ।




