
काठमाडौं : गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सहभागी भएका हुन् ।
बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् । नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो ।
पटकपटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो । पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो ।

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।
खड्का कार्यवाहक सभापति
उनले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गर्दै उनले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले विधिवत रुपमै आफुले पार्टीको नेतृत्व हस्तन्त्रण गर्ने उद्घोष समेत गरे ।


