
गुलरिया(बर्दिया) : बर्दियामा चार दिनअघि बेपत्ता भएकी बालिकाको शव भेटिएको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको हो । उनको शव गुडी खोलाको किनारमा फेला परेको बर्दिया प्रहरीले जनाएको छ ।
भारती गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं–५ गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले खोजतलाससंगै प्रहरीलाई खबर गरेका थिए ।
बालिकाको खोजतलास गर्दै जाने क्रममा शनिबार सोही वडाको मुलापानी गुडिखोलामा साइकल फेला परेका थियो । बालिकाको खोजतलास गर्ने क्रममा गुडिखोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र मल्लले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराको कमाण्डमा टोलि खटिएको उनले बताए । शव खोजविनका लागि प्रहरीले कुकुर परिचालन गरेको थियो ।
स्थानीयबासीले बालिकाको मृत्यु शंकास्पद भएको बताउँदै आवश्यक अनुसन्धान गरि दोषीउपर कारवाही गर्नुपर्ने माग गरेका छन् । मृतकको शव परिक्षणको लागि नेपालगञ्ज लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।


