
कोहलपुर (बाँके) : बाँके प्रहरीले कोहलपुर नगरपालिका–१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेटसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई सो लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले लुम्बिनी पदेश.०२–००१ प ४१३९ नम्बरको स्कुटर र बा.७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको जनाएको छ ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–३ लखना बस्ने ३१ वर्षीय शिवप्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेका छन् । सो स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई सो पदार्थ सहित पक्राउ गरेको हो ।


