
नेपालगञ्ज : नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीहरु कारागार भित्र आगजनी गरी बाहिर निस्कन खोज्दा भएको झडपमा गोली लागेर एक घाइते भएका छन् ।
बिहीबार दिउसो करिव ३ बजेतिर भएको सो झडमा परेर लागू औषधको मुद्दामा थुनामा रहेका एकजनालाई गोली लागेको हो ।
कारागारमा रहेका कैदी बन्दीहरु अगाडिको ढोका फोडेर बाहिर निस्कन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । त्यस क्रममा नेपालगञ्ज कारागारमा लागू औषध मुद्दामा थुनामा रहेका उमेश बमको बाँया खुट्टाको पिडुलामा गोली लागेको हो ।

उनको भेरी अस्पतालमा उपचार भई रहेको छ । कारागार भित्र आगजनी गरी भाग्न खोज्दा नेपाली सेनाले स्थितिलाई नियन्त्रणमा लिनका लागि चलाएको कारागार निकट स्रोतले जनाएको छ ।
२ सय ५० क्षमताको कारागारमा १ महिला समेत गरी ७ सय ७० कैदी बन्दी रहेका छन् । समारचार तयार पार्दासम्म स्थिति नियन्त्रणमा रहेको छ । कारागार सेनाले नियन्त्रणमा लिएको छ ।
कारागारबाट कैदी बन्दी निस्कन खोजे पछि ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको थियो । कैदी बन्दीले गरेको आगजनी नेपालगञ्ज उपमहानगरको दमकल प्रयोग गरी निभाईएको थियो ।


