
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

काठमाडौमा आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा १ सय जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ ।
यीनीहरु मध्ये उपचारको क्रममा विभिन्न अस्पतालहरुमा १४ जनाको मृत्यु भई सकेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
उता, सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारी मध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।
एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत मध्ये तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।


