
काठमाडौ : प्रथम महिला राधिका शाक्यले चाहेको खण्डमा नेपाली समाजमा काम गर्ने क्षेत्र धेरै फराकिलो भएको बताएकी छन् ।
अनेरास्ववियु केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै कार्यक्रमकी प्रमुख अतिथि शाक्यले समाजलाई कता लैजाने भन्ने कुरा वर्तमान पुस्ताको हातमा रहेको बताएकी हुन ।
महिला, बालबालिका माथि हुने हिंसा वा अन्य कुनै पनि खालका अन्याय र अत्याचार समाजमा हुन दिनु नहुने उनको धारणा थियो । ‘आफूलाई नपर्दासम्म यो उसको समस्या हो भन्ने कुरा हामीले त्याग्नु पर्दछ, आँखा अगाडि देखिएका समस्यामा आवाज उठाउनु पर्छ’, उनले भनिन् ।

उनले युवालाई जुन क्षेत्रमा गए पनि इमानदार हनु आग्रह गरिन । अनेरास्ववियुमा लागेर काम गरेको अनुभवले त्यसमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन । ‘युवा पुस्ता हरेक क्षेत्रमा सक्षम, इमानदार र मेहनती बन्नु पर्दछ’, उनले भनिन् ।
४० वर्ष अगाडि आफूले पनि केही समय अनेरास्ववियुमा काम गरेको स्मरण गराउँदै त्यति बेलाको राजनीति अहिलेको जस्तो नभएको उनले बताईन । ‘तर पनि म आजसम्म जुन स्ट्यण्डमा उभिएको छु मेरो राजनीतिको गुरु यही अनेरास्ववियु नै हो, त्यही अनेरास्ववियुमा बस्दा मैले पाएका अनुशासन, मेहनत र इमानदारितालाई अज जेष्ठ नागरिक बन्दा पनि पालना गरिरहेको छु भन्ने लाग्छ’, उनले भनिन् ।
युवालाई यता जाँदा राम्रो हुन्छ कि, उता जाँदा राम्रो हुन्छ कि भनेर यता र उता नलाग्न उनले आग्रह गरिन । यसले अघि बढ्ने बाटो बन्द हुने शाक्यको धारणा छ । जीवनलाई सुखमय बनाउन धैर्यता र लगनशीलता आवश्यक पर्ने उनले बताईन । ‘अहिलेका युवाले धैर्यता राख्न गाह्रो छ, धैर्यता बिना हामी अगाडि बढ्न सक्दैनौँ, यो सबैभन्दा बलियो हतियार हो’, उनले भनिन् ।
आफ्नो कामलाई सफल बनाउन धैर्यता आवश्यक रहेको उनले बताउदै धैर्यताका साथ आफ्नो लक्षमा अगाडि बढ्न उनले सबै विद्यार्थीलाई शुभकामना दिईन ।


