
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपािलकाले उपमहानगरमा कार्यरत सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति निर्माण गरी कार्यान्वयनको चरणमा ल्याउने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञसंग अन्तरक्रिया गरेको छ ।
एमडिएम फ्रन्सको आर्थिक प्राविधिक सहयोग तथा बि–गु्रपसंगको समन्वयमा उपमहानगरका सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन–२०८१ का बारेमा छलफल आयोजना गरेको हो ।
नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरमा कार्यरत सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षाको कुरालाई ध्यानमा राखेर सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन–२०८१ तयार गरीएको बताए ।
उनले भने–‘ सरसफाईकर्मीको स्वास्थ्य सुरक्षाको लागि बि–ग्रुपले एमडिएम फ्रान्ससंग सहकार्यगरी नीति निर्माण गरी उनीहरुको लागि स्वास्थ्य विमा तथा सुरक्षा सामग्री उपलब्ध गराएर कार्यक्षेत्र सुरक्षित मात्र नबनाई कामको समेत सम्मान बढाएको पाईएको छ ।’
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले एमडिएम फ्रान्स र बि–गु्रपको विषेश पहलकदमीमा उपमहानगरका सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन–२०८१ गत कात्तिक महिनामै कार्यपालिका बैठकबाट पास गरि हालैमात्र राजपत्रमा प्रकाशित गरिएको जानकारी दिए ।


उनले भने–‘ यो गत काक्तिकमै कार्यपालिकाले पास गरे पनि स्थानीय राजपत्रमा भने हालै प्रकाशित गरेका छौ । यसको कार्यान्वयनले नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीको जीवन रक्षासंगै आत्मबल बढ्ने महशुस गरिएको छ ।’
नीजि स्वास्थ्य संस्था सञ्चालकको तर्फबाट कान्ति आरोग्य अस्पताल नेपालगञ्जका सञ्चालक डा रोमा बोराले स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहरको व्यवस्थापनमा खट्ने सरसफाईकर्मीहरुको जीवन रक्षाको लागि यो नीतिले सहयोग पुराउने विश्वास लिईएको बताईन ।
उनले भनिन–‘ खासगरी स्वास्थ्य जन्य फोहर व्यवस्थापन गर्दा सरसफाईकर्मी अत्यन्तै जोखिममा पर्ने हुँदा यो नीतिले उनीहरुको लागि उपयोगी हुने छ । जो अत्यन्तै खतरनाक संक्रामक रोगको उपचारको क्रममा निस्केको फोहर, निडिल, रगतलगायतको व्यवस्थापन गर्छन ।’
बि–ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले खासगरी बि–ग्रुपले फोहरमा कामगर्ने सरसफाईकर्मीहरु स्वास्थ्यको हकमा निक्कै जोखिम मोलेर काम गर्ने भएकोले उनीहरुको स्वास्थ्य सुरक्षाको लागि आफुहरुले काम गर्दै आएको बताए ।
उनले कार्यक्रम अन्तरगत सरसफाईकर्मीको व्यक्तिगात सुरक्षाको लागि सुरक्षा सामग्री र पारिवारिक सुरक्षाको लागि स्वास्थ्य बिमा गरिदिएको कारण सरसफाईकर्मी अब सुरक्षित रहेको दाबी गरे ।
नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमडिएम फ्रान्सका कन्ट्री डाईरेक्टर डा निर्मल ढकाल, बि–ग्रुपका अध्यक्ष डा ईन्द्रबहादुर भण्डारी, नेपालगञ्ज उपमहानगरका प्रवक्ता प्रमोद रिजाल, डा. बिनोद कर्ण, अधिवक्ता बसन्त गौतमलगायतले आ–आफ्नो सुझाव दिएको कार्यक्रम जनस्वास्थ्य अधिकृत राजन शाहीले सहजिकरण गरेका थिए ।


