
नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपालीको शव भेटिएको छ । अन्दाजी २५–३० वर्षीय युवकको शवको पहिचानमा जुटेको भारतीय प्रहरीले मुख र टाउकोमा गम्भीर चोटका कारण रगत बगेको जनाएको छ ।
रुपईडिहाको वडानं. १० रामजानकी नगरमा खाली रहेको एउटा घरको बगैचामा भेटिएको शव पहाडी मुलको जस्तो देखिएको भारत रुपईडिहा प्रहरीले जनाएको छ ।

एक दिनअघि नै युवकको हत्या भएको हुन सक्ने भन्दै भारतीय प्रहरीले युवक लागू औषध सेवनकर्ता जस्तो देखिएको जानकारी दिएको छ । शव भेटिएको ठाउँमा प्रतिबन्धित औषधिका खाली पत्ता र प्रयोग गरिएको सिरिन्ज भेटिएको छ ।
हरियो रंगको टि–शर्ट र निलो रंगको हाफ पाइन्ट लगाएको युवकको शवको फोरेन्सिक परीक्षणका लागि आएको टोलीले स्याम्पुल लिएपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बहराइच पठाइएको छ । चौविस घण्टाभित्र शवको पहिचान नभएमा त्यसपछि उक्त शवको बहराइचमै अन्त्येष्टि गरिने भारतीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।


