
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले आफ्नो नगरसभाको १७ औं अधिवेशनमा आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरेको छ । यो अधिल्लो आर्थिक वर्ष भन्दा थोरै कम हो । उपमहानगरले गतवर्ष आव २०८१–०८२ का लागि १ अर्व ७६ करोड ५७ लाख २६ हजार ३ सय ४३ रुपैया ४४ पैसाको बजेट प्रस्तुत गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको मङ्गलबार सुरु भएको नगरसभाको १७ औँ अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८२/०८३ का लागि सो अनुमानित आयव्यय प्रस्तुत गरेका हुन ।
उनले उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट सशर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घर जग्गा रजिस्ट्रेसनबाट १२ करोड, आन्तरिक आय २३ करोड प्राप्त हुने जानकारी दिए ।


यसैगरी, विशेष अनुदान एक करोड ३५ लाख, समपुरक अनुदान ५३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९० लाख २१ हजार, राजस्व बाँडफाँट दुई करोड ३२ हजार, सशर्त अनुदान दुई करोड २९ लाख, समपूरक अनुदान एक करोड ५० लाख र विशेष अनुदान एक करोड ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।
यसैगरी, जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैँक मौज्दात ११ करोड ४१ लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ । यसअघि सो १७ औँ नगरसभामा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगरसभाका सदस्य तथा वडाध्यक्षहरु प्रमोद रिजाल, दीपक वर्मा, राजकुमार साहु, गोपाल पुन, कौशलकुमार धोबी, र सराफत अली, उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामहरी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


