नेपालगन्ज : दाङ–दाङ जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि बेलझुण्डीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै यसलाई सुखद पक्षको रूपमा लिनुपर्ने बताए । प्रदेशको समग्र विकासमा खेल क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले खेल पूर्वाधारको विकास, खेलाडी उत्पादन र नियमित प्रतियोगिता सञ्चालनमा सरकार गम्भीर रूपमा क्रियाशील रहेको जानकारी दिए ।
‘खेल पर्यटनको वातावरण विस्तार हुँदै गएको छ । यसले समग्र प्रदेशको विकासमा समेत योगदान पु¥याउने विश्वास लिएको छु ।’ उनले भने, – ‘प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । सबै खेललाई बराबरी प्राथमिकता दिइएको छ ।’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाट नयाँ खेलाडी उत्पादन गर्न उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै उनले यसलाई अझ व्यवस्थित गर्दै खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्ने वातावरण तयार गर्न जोड दिए ।
प्रतियोगिता उद्घाटन कार्यक्रम दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उप–महानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायत जनप्रतिनिधि, खेलप्रति तथा जिल्लाका दशवटै पालिकाका खेलाडीहरूको सहभागिता रहेको थियो ।


