
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले म्याजिक नंम्बर ३२ सिटेले ठूला पार्टी माथि शासन गर्न नपाउँदा अहिले छटपटिएको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पोखरेलले ३२ सिटको म्याजिक नम्बरले कांग्रेस एमाले माथि शासन गर्न नपाउँदा अहिले छटपटाइ रहेको बताए । अहिले सरकार र एमाले माथिको प्रहार त्यसैको उपज भएको उनको भनाई थियो ।
पोखरेलले नेकपा एमालेले उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्री बनाइदिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पनि एमाले विरुद्ध खनिएको बताए । आफ्नो कर्मको परिणामस्वरुप रास्वपा अध्यक्ष रवि लामिछाने जेल परेका बताउँदै रास्वपा कार्यकर्ता एमालेको विरुद्ध खनिनु बेकार भएको महासचिव पोखरेलले स्पष्ट पारे ।
‘जान्नेलाई छान्ने’ भन्नेहरू जनतालाई झुक्क्याउने काममा लागेको उनको टिप्पणी थियोे । आफ्नो भविष्य अन्धकार हुँदा सो पार्टीका नेता कार्यकर्ताहरूले एमाले माथि प्रहार गरिरहेका पोखरेलको भनाइ छ ।
राप्रपामा पनि त्यस्तै चरित्र रहेको उनले बताए । ‘सांसद र मन्त्री बन्न एमाले चाहिने तर त्यो नभएपछि एमाले कामै नलाग्ने भन्दै उनीहरू हिँडेको देखियो ’–उनले भने । अहिले दुई ठुला पार्टी मिलेपछि आफ्नो दिन नआउने भयो भनेर साना पार्टीहरू एमालेको विरुद्ध खनिएका उनको धारणा छ ।

उनले एमाले माथि प्रहार भयो भनेर खुट्टा कमाउने होइन आँट र हिम्मतका साथ खुट्टा टेक्नु पर्ने बताए । एमालेले समाजलाई मर्यादित दिशामा लैजानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
एमाले महासचिव पोखरेलले हिजो राजतन्त्रको बेलामा खान पल्केकाहरू अहिले लोकतन्त्रले केही दिएन भनेर भ्रम फिँजाउने काममा लागेकोे बताए । पञ्चायतमा भएको विकास र लोकतन्त्र प्राप्ति पछि भएको विकासको तुलना गरेर हेर्न उनले आग्रह गरे ।
नेकपा एमालेका सामु ठुला ठुला सङ्कट आउँदा पनि एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको उनले स्मरण गराए । सबै खालका सङ्कट सामना गर्दै नेकपा एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको पोखरेलले स्पष्ट पारे ।
समाजलाई विखण्डनको प्रयास भइरहेको बताउँदै उनले नेकपा एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनु पर्नेमा जोड दिए । हरेक पटक नेकपा एमाले सत्तामा आए पछि देश विकासको गतिमा अघि बढेको उनले स्पष्ट पारे । तर पार्टीले गरेको कमलाई जनताको बिचमा लैजान नसक्दा एमाले पछाडि परेको पोखरेलले बताए ।
जबसम्म २०८४ सालको निर्वाचन हुँदैन तबसम्म दुई ठुला पार्टी बिचको गठबन्धन नटुट्ने उनले बताए । यसमा दुवै दलका नेता प्रतिबद्ध रहेका पोखरेलले सुनाए ।



