सांसद राणा हाजिरी जमानीमा छुटे

सदरलाइन संवाददाता ७ बैशाख २०८२, आईतवार २३:५४
 

 नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिर जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको उनले एसएसपी अधिकारीले बताए ।

यता, धवल शमशेर राणा हाजिरी जमानीमा छुटेको जानकारी सामाजिक सञ्जालमार्फत् राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख/केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए ।

क्यान्सर जितेर फर्केको करिब ३ महिनापछि राणा अहिले प्रहरी हिरासतमा छन् । उनै राणालाई उपचार गराउन भारत लैजान सरकारले नदिएको भन्दै संयुक्त जनआन्दोदन समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार एक विज्ञप्ति समेत निकालेका थिए ।


१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि उनी पक्राउ परेका थिए । उनको गत सोमबार र मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान समेत लिइएको थियो ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।

यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती सेवा ऐनको माग गर्दै चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र

७ बैशाख २०८२, आईतवार २३:५४
नेपालगञ्ज : सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माण र कर्मचारीका साझा मागहरूको समावेश सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका चार प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा ज्ञापन पत्र पेस गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन लुम्बिनी […]