२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

निजामती सेवा ऐनको माग गर्दै चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र



नेपालगञ्ज : सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माण र कर्मचारीका साझा मागहरूको समावेश सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका चार प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा ज्ञापन पत्र पेस गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्षहरूद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव रामजी दनाइ र उपसचिव मोहन अर्याललाई बुझाइएको हो ।

ज्ञापन पत्रमा सर्वाधिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउँदै सुशासनको प्रत्याभूति गर्न सङ्घीय निजामती सेवा ऐनको निर्माण अत्यावश्यक रहेको उल्लेख छ ।

सङ्घीय संसदमा पेस भएको विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले विगतमा राखेका ८५ बुँदे मागहरू, सर्वोच्च अदालतको निर्देशन तथा नेपाल सरकार र ट्रेड युनियनबीच भएको सहमति समावेश नभएकोप्रति गम्भीर आपत्ति जनाइएको छ ।

ज्ञापन पत्रमा समावेश प्रमुख मागहरूमा निजामती कर्मचारीको स्पष्ट परिभाषा, समायोजन, पदपूर्ति, बढुवा, तह वृद्धि, सेवा निरन्तरता, सरुवा प्रणाली, करार सेवाको व्यवस्थापन, तथा विशिष्ट सेवाहरूको संरचनात्मक विकास जस्ता विषयहरू छन् ।

सरकार र सङ्घीय सांसदले प्रस्तुत मागप्रति गम्भीर चासो नदेखाएमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार
ताजा समाचार