२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सडक दुर्घटनामा बृद्धि भएपछि छाडापशु काञ्जीहाउस पुराउदै नेपालगञ्ज उपमहानगर



नेपालगञ्ज : नेपालगञ्ज नगरमा सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा छाडा छोडिएका पशुचौपायालाई काञ्जीहाउस पुर्याउने गरेको छ ।

नगरका विभिन्न सडकमा छरिएर रहेका पशुचौपायालाई एकत्रित गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस पुर्याउने गरिएको हो ।

नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ । ५८ वटा पशुचौपायालाई काञ्जीहाउस लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई काञ्जीहाउस पुर्याइएको छ । घरधनीले आफ्नो पशुहरु सडकमै छोडिदिने र खुला सीमा नाकाका कारण पनि नेपालगञ्जका सडकमा छाडा पशुचौपायाको संख्या उल्लेख्य हुने गरेको छ ।

छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनुपरेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आ–आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दै आए पनि छाडा छोड्ने प्रबृत्ति रोकिएको छैन । नगर प्रमुख विष्टले नगरबासी सबैले यसमा गम्भीरता देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार
ताजा समाचार