अस्पतालले २६ लाख क्षतिपूर्ति दिनुपर्ने जिल्ला अदालतको फैसला उच्चबाट पनि सदर

सदरलाइन संवाददाता २७ भाद्र २०८१, बिहीबार १४:०४
 
फाईल फोटो

नेपालगञ्ज : बिरामीको उपचारमा अस्पतालको लापरवाही भएको ठहर गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालत बाँकेको फैसलालाई सदर गरिदिएको छ । सो फैसलासंगै मृतकका परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भन्ने जिल्ला अदालतको फैसलालाई उच्चले सदर गरेको हो ।

नेपालगञ्ज–२ घरवारीटोलका मनितलाल श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको थियो । त्यसपछि उनकी श्रीमती नम्रता श्रेष्ठले अस्पतालको लापरबाहीका कारण आफ्नो श्रीमानको मृत्यु भएको दाबीसहित २०७६ साल श्रावण ३१ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा जिल्ला अदालत बाँकेले २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालतले २०७९ फागुन ११ गते अस्पतालको लापरबाहीका कारण श्रेष्ठको मृत्यु भएको ठहर गर्दै क्षतिपूर्ति तोकेको थियो ।

अदालतको सो फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जिल्लाकै फैसलालाई सदर गरेको निर्णय सुनाएको हो ।


ज्वरो आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको इमरजेन्सी वार्डमा पुग्नुभएका मनितलालको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको परिवारको दाबी थियो । बाँके जिल्ला अदालतमा दायर क्षतिपुर्ति मुद्धाको ०७९ फागुन ११ गते सुनुवाई हुँदा बाँके जिल्ला अदालतका न्यायाधीश बिदुर काफ्लेको इजलासले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै बिपक्षी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंञ्जबाट क्षतिपुर्ति दिलाउने आदेश गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ कायान्वयनमा आए पछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपुर्ति मुद्धामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरिय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितको पक्षमा सुरुदेखि कानूनी सहयोग गर्दै आएका अधिवक्ता बसन्त गौतमले बताए ।

मुद्धा दर्ता भएर अदालती प्रक्रियामा लामो समय लम्बिएर नेपालगंज उच्च अदालतबाट समेत मुद्धाको किनारा लाग्दा मृतकका परिवार अदालतको फैसला पछि खुसी भएका छन् । अदालती फैसला पछिको संक्षिप्त प्रतिक्रिया दिदै मृतक मनितलाल श्रेष्ठकी श्रीमती नम्रता श्रेष्ठले अदालतको फैसलाले न्यायको अनुभुति भएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस क्षेत्रनं १ ले बिपी जयन्तीमा निशुल्क दन्तशिविर सञ्चालन

२७ भाद्र २०८१, बिहीबार १४:०४
राप्तीसोनारी (बाँके) :  बिपी कोईरालाको १११औ जन्मजयन्तीको अवसर परेर नेपाली कांग्रेस बांके क्षेत्रनं १ को आयोजनामा राप्तीसोनारी अस्पतालमा ‘निशुल्क एक दिने दन्त शिविरको’ आयोजना गरिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग र राप्तीसोनारी गांउपालिकाको सहकार्यमा सम्पन्न शिविरमा करीव दुई सय जना सर्वसाधारणले सेवा लिएका थिए । […]