कोहलपुर (बाँके) : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ मा नेतृत्व कब्जा गर्नका लागि संस्थापन ईतर एक ठाउँमा उभिएका छन् । क्षेत्र नम्बर १ को सभापतिको रुपमा युवा नेता पोषण केसीलाई अघि सारिएको छ । संस्थापन पक्षबाट माधवराम खत्री तेस्रो ईनिङ्गको लागि चुनावी मैदानमा छन् ।
कोहलपुरमा मंगलबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा नेताहरुले पार्टीलाई विधि विधान र पद्धतिमा चलाउन नेतृत्व परिवर्तन अनिवार्य भएकोले संस्थापन ईतर पक्ष एकठाँउमा उभिएको दाबी गरे । क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टी संगठनलाई तहसनहस बनाउँदै व्यक्तिबादी बन्दा पार्टी कमजोर भएको आरोप लगाउदै संस्थापन पक्षले केसीलाई अघि सारेको हो ।
क्षेत्र नम्बर १ उम्मेदवार घोषणा कार्यक्रममा पूर्व सांसद ज्ञानु केसीले कांग्रेस बनाउने आफूहरुको अभियानमा ऐक्यबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्दै भने–‘व्यक्तिबादी चरित्रले पार्टी कमजोर बनेकोले काँग्रेस बलियो बनाउन नेतृत्व परिवर्तन अपरिहार्य छ ।’
नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलेले पार्टीभित्रको लोकतान्त्रिक जीवनलाई बचाउन आफूहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । पौडेलले नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गर्न आफूहरु अतिवादका विरुद्ध संगठित भएको बताउदै कार्यकर्तालाई दास बनाउने प्रबृत्तिका विरुद्ध आफूहरु एकजुट बनेको बताए ।
महासमिति सदस्य नारायण गौडेलले वडादेखि आफूहरुले शुरु गरेको अभियान जिल्लासम्मै सफल हुने बताउँदै नवीन कांग्रेस बनाउने आफूहरुको अठोट रहेको उल्लेख गरे । महासमिति सदस्य हुर्मत न्यौपानेले पोषण केसी नेतृत्वको प्यानललाई जिताएर संघीय क्षेत्र अधिवेशनमा क्लिन स्विप गर्ने उद्घोेष गरे । आफूहरु नेपाली कांग्रेस सुधार्ने अभियानमा लागेको न्यौपानेको भनाई थियो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष एवम् युवा नेता पूर्ण आचार्यले अहिलेका क्षेत्रीय सभापति खत्रीले सम्भावना बोकेका असल नेताहरुको तेजोबोध गर्दै राजनीतिक हत्या गरेकाले उनको विकल्प खोज्न आफूहरु संगठित भएको बताए । उनीसंग आफूहरुको व्यक्तिगत नभई राजनीतिक लडाइँ रहेको उनको भनाई थियो ।
विद्यार्थी नेता आचार्यले आफू पनि क्षेत्रीय सभापतिको उम्मेदवारका रुपमा रहे पनि टिमको निर्णयलाई शिरोपर गर्दै केसीलाई समर्थन गरेको बताए । केसीको नेतृत्वमा अब चुनावमा होमिएको भन्दै उनले पूरै टिमलाई जिताउन सबैलाई आह्वान गरे । यो पटक पनि चुके अब फेरि पाँच वर्ष पश्चाताप बाहेक केही नहुने उनको भनाई थियो ।
संस्थापन पक्षबाट क्षेत्रीय सभापतिका प्रत्यसी बनेका युवा नेता केसीले आफूले अग्रजहरुको सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने बताए । उनले सबैलाई जोड्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो अठोट रहेको बताए ।
केसीले आफु नेतृत्वमा आए कोहलपुरमा पार्टीको क्षेत्रीय कार्यालय बनाउने घोषणा गरे । उनले व्यक्तिवाद, अधिनायकबाद र बालहठ प्रबृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । एउटै व्यक्तिको एकाधिकार तोड्न आफूहरु चुनावी मैदानमा होमिएको बताए ।
घोषणा कार्यक्रममा नेताहरु नारायणप्रसाद सिग्देल, मिना सिग्देल, नरबहादुर मल्ल, इशाक जोलाहा, प्रदेश क्षेत्रीय सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले केसी नेतृत्वको प्यानललाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव डिल्ली गिरीले गरेका थिए ।