२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रधानमन्त्रीको उद्घोष



काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नपनि नदिने उद्घोष सहितको प्रतिबद्धता दोहोराएका छन् ।

मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको कुरामा जोड दिदै भने –‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो ।’

राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै कुरा भए पनि आफू कुनै पनि भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गरे । ‘म दाबाका साथ भन्छु यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले आफूलाई कुनै आर्जन गर्नु नभएको प्रष्ट पार्दै भने –‘राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर आफ्नो बनाउनु छैन, त्यो मेरो नैतिकताले पनि दिँदैन, मलाई आवश्यक पनि छैन, त्यो मेरो सोच पनि होइन ।’

सामाजिक सञ्जालमा कसले कहाँ गाली ग¥यो, कसले मुख छाड्यो त्यसको पछि लाग्न नसकिने ओलीले बताए । मैले भ्रष्टाचार गरिनँ, गर्न कसैलाई इजाजत पनि दिएको छैन, कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकिएको होला तर गर्न दिएको होइन, म स्पष्ट गराउन चाहन्छु, फेरि पनि मेरो प्रतिबद्धता, दृढ प्रतिबद्धता छ– म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही हा’ ओलीले भने ।

उनले भ्रष्टाचारको मामलामा कसैको अनुहार नहेरी कडा रूपमा अघि बढ्ने बताए । यो प्रचारबाजीको लागि नभएर स्थिति र अवस्थामा सुधार ल्याउनको लागि गरिएको प्रतिबद्धता भएको उनले प्रष्ट पारे । आफूले देशको लागि काम गर्न अहिलेको सरकारको नेतृत्व गरेको ओलीले बताए ।

नीतिबिना भएका कामलाई नीतिमा ल्याउन आवश्यक भएको बताउदै नीति नहुँदा पनि व्यवहार चल्ने भए पनि त्यसलाई क्रमशः कानुन बनाएर थिति विधिमा ल्याउनु पर्ने उनको धारणा छ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति नभएको पनि प्रष्ट पारे । निजामती सेवामा स्वछ भनेर मानिएका मानिसहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने उनले बताए ।

कसैलाई धित नमरेको हुन सक्ने भए पनि संसदीय सुनवाई समितिले राम्रो काम गरेको ओलीले बताए । कतिपय न्यायाधीश र संवैधानिक आयोगका सदस्य बन्न लागेका मानिसहरूलाई समेत सुनुवाइ समितिले रोकेको उनले उदाहरण दिए ।

ओलीले आफू हरेक सच्चिनु पर्ने र अरूलाई पनि सच्याउनु पर्ने बताउदै आफ्नो लागि अलग कानुन र अरूको लागि अलग कानुनको कल्पना गर्न नहुने कुरामा जोड दिए ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार
ताजा समाचार