
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश निर्माणको लागि मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता, आर्थिक, सामाजिक रूपान्तरण र विकासका लागि सहकार्य आवश्यक रहेको र यसका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
किताब जात्राको छैटौँ संस्करणको शुक्रबारबाट उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको कुरामा जोड दिएका हुन । ‘आज नेपालीको साझा आकाङ्क्षा समृद्ध नेपाल, सुखी नेपाली हो’ अर्थमन्त्री पौडेलले भने ।
मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता, आर्थिक, सामाजिक रूपान्तरण र विकासका लागि सहकार्य आवश्यक रहेको उनले बताए । सङ्घर्षबाट व्यवस्था परिवर्तन गरी नयाँ लोकतन्त्रात्मक गणतान्त्रिक व्यवस्था र उत्कृष्ट संविधान ल्याइएको बताउँदै उनले अब त्यसको व्यवहारिक कार्यान्वयन सर्वाधिक महत्वको विषय भएको प्रष्ट पार्दै भने–‘हरेक नेपालीका निमित्त यो सर्वाधिक महत्वको प्रश्न हो ।’

राजनीतिक स्थायित्व काम नहुँदासम्म देशलाई सम्पन्न बनाउन नसकिने उनको धारणा छ । ‘जबसम्म राजनीतिक स्थायित्व कायम हुन सक्दैन, जबसम्म आर्थिक क्रान्ति हुन सक्दैन, देशलाई सम्पन्न बनाउन सक्दैनौँ, प्रत्येक नेपालीलाई सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्, जबसम्म जनता सम्पन्न हुन सक्दैनन् तबसम्म राम्रा किताबहरू बजारमा आए भने पनि किन्न सक्दैनन्, पढ्न सक्दैनन’– नेता पौडेलले भने ।
उनले समाजका हरेक मानिसलाई समृद्धि चाहिएको बताए । ‘अहिले नेपाल सरकोको सर्वाधिक सरोकारको विषय के छ भने राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रूपान्तरण, विकास र समृद्धि’–उनले भने ।
समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने यस्ता कार्यक्रमलाई सरकारले सधैँ साथ दिने उनले प्रतिबद्धता व्यक्त गरे । ‘समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रूपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’, उनले भने ।
पौडेलले किताब माथि कर लगाउँदा विवेक र ज्ञान माथि नै कर लगाउनु जस्तो हुने बताउदै आफूले किताबमा लगाएको करलाई फिर्ता लिने निर्णय लिएको सुनाए ।


