सडक निर्माण पूरा गराउन मन्त्रीको ध्यानाकर्षण

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १४:२४
 

नेपालगञ्ज : बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।

खजुराका अगुवा शिव श्रेष्ठले खजुरा सडकको काम छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माण गर्न आग्रह गरे । श्रेष्ठले भने, ‘यहाँ भएको ठेक्का रद्द गरी नयाँ ठेक्का भई काम सम्पन्न गरियोस् ।’

स्थानीयको ज्ञापनपत्र बुझेपछि मन्त्री ज्वालाले खजुरावासीको समस्या समग्र सरकारको समस्या रहेको बताए । मन्त्री ज्वालाले भने, ‘बाँकी काममा नयाँ ठेक्का दिएर हुन्छ वा हुलाकीमा जोडेर हुन्छ, सरकारले गम्भीरतापूर्वक काम गर्नेछ ।’ मन्त्री ज्वालाले धेरै समय अस्तव्यस्त हुन नदिने बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामले सडक निर्माण कार्य सुरु गरेको छ । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको हो ।


सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । निर्माण कम्पनीको मागका आधारमा तीन पटक म्याद थप भए पनि काम सन्तोषजनक अघि बढ्न नसकेको स्थानीयको गुनासो छ । दैनिक हर्जानामा पनि काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेर कालोसूचीमा राखेको छ । निर्माण कम्पनी अदालत पुगेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले खजुराको १८०० मिटरको जिम्मा हुलाकी सडकको काम गरिरहेको शर्मा एण्ड कम्पनीलाई दिन र पेडारी नालामा पुल निर्माण गर्न आग्रह गरे । उनले परस्पुर–गौंघाट सडक समयभित्रै सम्पन्न गर्न तथा हुलाकी सडकका लागि माटो बोक्नेक्रममा भत्किएको खजुरा इ–गाउँ सडक निर्माणको माग गरे ।

बाँके र बर्दियाका दुई स्थानमा चार लेन (फोर लेन) सडकको निर्माण काम एकसाथ सुरु भएकोमा बाँके खण्डमा निर्माणको काम अधुरो छ । सुरुमा बिजुलीका पोल तथा खानेपानीका पाइप सार्ने, रुख तथा, सडक खण्डमा पर्ने संरचना, दुई पटक कोभिडका कारण पनि कामले गति लिन नसकेपछि भने निर्माण कम्पनीको लापरबाही देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक

५ फाल्गुन २०८०, शनिबार १४:२४
नेपालगञ्ज : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा वैशाखको २६ […]