खजुराको शिविरबाट साढे पाँचसय लाभान्वित

१ बैशाख २०७६, आईतवार १८:४६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : ग्रामीण भेगका बालबालिका तथा वयस्कहरुमा फोहोर पानी, धुँवाधुलोका कारण आँखा र स्वास्थ्यमा समस्या भएको विज्ञहरुले बताएका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुर गोदहनामा आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरका चिकित्सकहरुले यस्तो बताएका हुन् ।
नयाँ वर्ष २०७६ को शुभारम्भसँगै ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न शिविरमा ५ सय ६९ जना लाभान्वित भएका छन् । केन्द्रकी अध्यक्ष श्रीमती लता शर्माका अनुसार शिविरमा ४ सय १७ महिला र २ सय ९ पुरुषलाई स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । आँखा तर्फ १ सय ४२ जनाले आँखा परीक्षण गराएका थिए ।



नेपालगञ्ज मेडिकल कलेजका डा. नेत्रप्रसाद बन्जाडेका अनुसार बाथ रोग, कान, छाला, दम, आर्थराइटिस, डायरिया, फङ्गल इन्फेक्शन, उच्च रक्त चाप, मधुमेह, छाती र पेटलगायतका विरामी शिविरमा बढी देखिएका थिए । भेरी अञ्चल अस्पतालकी डा. अस्मिता गौतमका अनुसार महिलाहरुमा पाठेघरको समस्या, रजस्वला अनियमितता, रक्त अल्पता, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको छ ।
नेपालगञ्ज मेडिकल कलेजका आँखा रोग चिकित्सक डा. जितेन्द्रकुमार वर्माले आँखा परीक्षण गरेका थिए । शिविरमा खजुरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अतिउल्ला खान, सचिव धर्मराज यादव, वडा सदस्यहरुको सक्रिय सहयोग र सहभागिता रहेको थियो । वडाध्यक्ष खानले आयोजक संस्था र चिकित्सकहरुलाई शिविर सञ्चालन गरेर स्थानीय वासिन्दालाई सेवा दिएकोमा आभार व्यक्त गरेका थिए ।

Next Post

केन्याको बारबाट बाह्र नेपाली युवती पक्राउ

१ बैशाख २०७६, आईतवार १८:४६
सदरलाइनडटकम, काठमाण्डौ : केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ । केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिला बारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरुलाई नियन्त्रणमा लिएको हो । गैरकानूनी यौन धन्दा तथा मानव तस्करी […]