‘रारा समिट’ सम्पन्न

सदरलाइन संवाददाता १ असार २०८०, शुक्रबार २०:१२
 

मुगु :  रारा तालको पर्यटन प्रवर्धन, जलवायु परवर्तनको असर र प्रभाव, उच्च भेगमा खाद्य असुरक्षा, मुगु तथा कर्णाली प्रदेशमा आर्थिक एवं अन्य विविध संभावना, अवसर र चुनैतीको विषयमा आधारित दुई दिने ‘रारा समिट’ सम्पन्न भएको छ ।

मुगुको प्रसिद्ध रारा तालको किनारमा आयोजना गरिएको सो समिटमा अलग अलग सत्रमा छलफल र अन्तरक्रिया गरिएको थियो । अन्तरालको आयोजना तथा मुगु जिल्लाका चार वटा स्थानीय तहहरु छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटमा विभिन्न विषयका विज्ञहरुले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेका थिए ।

भूगोलको हिसाबले देशकै ठूलो कर्णाली प्रदेश विकाश र अवसरका हिसाबले किन सधै पछाडि परेको छ भन्नेबारे समिटमा गहन विष्लेषण गरिएको थियो ।

रारा समिटका दशभन्दा बढी सत्रहरुमा कर्णाली प्रदेशको समग्र विकासको लागि आवश्यक राष्ट्रिय, क्षेत्रीय, स्थानीय रणनीति बनाउँदै खाका कोर्ने प्रयास गरिएको थियो । समिटबाट प्राप्त सुझाव, विचार एवं आवश्यकताहरुलाई प्रतिवेदनको रुपमा कर्णाली प्रदेश योजना आयोग र राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिने बताईएको छ ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीले रारा तालको समग्र विकासका लागि रारा गुरुयोजना तयार पार्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

राराको पर्यावरण जोगाउँदै स्थानीय जनताको जीवनस्तर माथि उकास्न आवश्यक न्युनतम पूर्वाधार र विकास निर्माणको लागि तिनै तहका सरकारले एकरुपताका साथ काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की, छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मराज शाही, खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाही तथा मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले मुगु जिल्लाको आवश्यकता तथा स्थानिय निकायका भावी योजनामाथि प्रकाश पारेका थिए ।


कार्यक्रमकै दौरान विश्वप्रसिद्ध धाविका मिरा राईले स्थानीय ५० भन्दा बढी बालबालिकालाई अल्ट्रा दौडसम्बन्धी दुई दिने विशेष प्रशिक्षण दिएकी थिईन ।

अन्तराल मिडियाले यही असोजमा रारा ताल किनारमा आयोजना गर्न लागेको रारा म्याराथनको तयारीस्वरुप यो दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरि रारा समिटमा दुई दिने योग तथा ध्यान शिविर पनि संचालन गरिएको थियो । योग साधक एवं प्रशिक्षक काव्य लम्सालले स्थानीयहरुलाई स्वस्थ शरिर र सफल जीवनका लागि योग साधना तथा ध्यानको महत्व बुझाउँदै योगाभ्यास गराएका थिए ।

वरिष्ठ वास्तु विज्ञतथा ज्योतिषी सुरेश चन्द्र रिजाल, साहित्यकार तथा वरिष्ठ संचारकर्मी डा. नवराल लम्साल, नेपालका पुराना फोटोहरुका संकलक सुनिल उलकलगायतले कर्णाली सभ्यता तथा यस भेगको भाषा साहित्यको ऐतिहासिक महत्वबारे प्रकाश पारेका थिए ।

रारा क्षेत्रमा गीतसंगित, कला तथा चलचित्रको महत्व तथा संभावनाबारेमा गायिका स्वश्तिका शाही, चलचित्र निर्माता चक्रबहादुर चन्द, वृत्तचित्र निर्देशक देवकी बिष्टका साथमा रारा समिटमा छलफल गरिएको थियो ।

यस्तै मुगु जिल्लामा खेलकुदको विकास र व्यवसायीक खेलाडी उत्पादनको लागि नीतिगत तथा संरचनागत आवश्यकतामाथि सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाही, धाविका मिरा राई लगायतका सरोकारवालाहरुले छलफल गरेका थिए ।

रारा समिटको आयोजक अन्तराल मिडियाका कार्यकारी अध्यक्ष जयनारायण शाहले रारा तालको पर्यावरण जोगाउँदै यस क्षेत्रलाई विश्वकै अद्भूत गन्तव्यको रुपमा विकास गर्न आयोजना गरिएको रारा समिटबाट प्राप्त सुझाव सम्बन्धित निकायसम्म पुर्याउँदै आगामीदिनमा कार्यक्रमको दायरालाई अझ फराकिलो पार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठेकेदारलाई कारवाहीको माग गर्दै खजुरामा चक्काजाम

१ असार २०८०, शुक्रबार २०:१२
खजुरा (बाँके) : एक हजार ८ सय मिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँकेका खजुराका स्थानीय आन्दोलित भएका छन् । नेपालगञ्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले […]