युवाहरु विदेश गएपछि खतरामा थारु सखिया नाच

सदरलाइन संवाददाता ५ कार्तिक २०८०, आईतवार १४:१९
 

नेपालगञ्ज : नेपालीहरुको घर–घरमा वडादसैैँ भित्रिसकेको छ । घरदेखि बाहिर रहेका मानिसहरु दसैं मनाउन घर फर्किरहँदा गाउँघरमा दसैंको चहलपहल समेत बढेको छ ।

गाउँघरमा दसैंमा पिङ बनाउनेदेखि थारु समुदायले एक साताअघिदेखि सखिया नाच नाच्न थालेका छन् । दसैं पर्व सरु भएसँगै थारु बाहुल्यता रहेका बस्तीहरुमा सखिया नाच्न थालिए पनि पहिलेजस्तो अहिले सखिया नाचको रौनक गाउँघरमा देखिएको छैन ।

थारु बस्तीहरुमा दसैैको चहलपहल समेत बढाउने सखिया नाचप्रति युवा पीढिको चासो कम हुँदा पछिल्लो समय नाच हराउँदै जान थालेको हो । सखिया नाचमा युवतीहरू सामुहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन् । धार्मिक एवं संस्कृतिसँग जोडिएको थारु समुदायको सखिया नाचको आफ्नै विशेषता रहेको छ ।

यो नाचमा भागवत पुराणमा आधारित रहेर नाच गरिने थारु संस्कृतिकर्मी बेझलाल थारुको भनाइ छ । उहाँका अनुसार पहिले श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिसहरु जम्मा भएर सखिया नाच्ने गर्दथे । पछिल्लो समय नाच्ने मानिसहरु हराउँदै गएको उनको बुझाइ छ ।


उनले भने, ‘पहिले करिव एक महिनासम्म सखिया नाच नाच्ने गरिन्थ्यो । दिनभरि खेतबारीमा काम गरेर बेलुकी सवै जना महतोको घरमा जम्मा भएर सखिया नाच रमाइलोसँगै बस्ती नै उल्लासमय हुनेगरी नाचिन्थ्योे ।’ पछिल्लो समय युवा पुस्ताको विदेश पलायनसँगै आफ्नो संस्कृति संरक्षणमा ध्यान नदिंदा सखिया नाच खतरामा पर्दैगएको उनले चिन्ता व्यक्त गरे ।

केही बर्षअघिसम्म गाउँमा सखिया नाच नाच्ने गरिए पनि पछिल्लो समय हराउँदैगएको घोराही उपमहानगरपालिका –१७ निवासी रामप्रसाद चौधरीले बताए । पहिले सखिया नाच्दा दसैंको समय गाउँ नै रमाइलो हुन्थ्यो । अहिले आधुनिक गीतसंगीतको असरले थारु समुदायको मौलिक नाच हराउँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘सखिया नाच थारु समुदायसँग जोडिएको ऐतिहासिक नाच हो, तर अहिले यो नाच नाच्ने गाउँमा मानिसहरु नै छैनन् । हेर्न जाम भने पनि टाढा अर्काे गाउँहरुमा जानुपर्ने बाध्यता छ ।’ पछिल्लो समय रोजगारी र पढाइले थारु समुदायका नयाँ पुस्ताहरु बहिर जानेभएकाले पनि नयाँ पुस्तामा सखियाको चासो नदेखिएको उनको भनाइ छ ।

आफ्नो मौलिक संस्कृति बचाउनका लागि ध्यान दिनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । अग्रजहरुले यसको संरक्षणका लागि चिन्ता चासो राख्ने गरे पनि नाच्ने युवाहरु गाउँमा नहुने भएपछि समस्या भएको स्थानीयको भनाइ छ । सखिया नाच सामुहिक नाचिने नाच भएकाले धेरै जनाको साथ सहयोगको खाँचो पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हराउँदै छ पिङ खेल्ने परम्परा

५ कार्तिक २०८०, आईतवार १४:१९
नेपालगञ्ज : दसैँ तिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ । पिङ खेल्न स्थानीय युवायुवतीको घुइँचो लाग्ने गर्छ तर पछिल्लो समयमा हिङलो अर्थात् पिङको सङ्ख्या र […]