२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बाँकेका चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा



नेपालगञ्ज : बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका बाँकी रहेका छन् ।

पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ ।

छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

यो वर्ष दादुरा महामारी फैलिएकाले बैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन नसकेको खोप सुपरभाइजर श्रेष्ठको भनाइ छ । असारको पहिलो सातासम्ममा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार
ताजा समाचार