संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १५:००
 

नेपालगञ्ज : संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धारका लागि घटनास्थलतर्फ गएको छ । प्रवक्ता सिटौलाले हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी आएको बताए । यो हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो ।

हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ दिनदेखि बन्द रहेको नेपालगञ्ज–हुम्ला हवाई उडान सुचारु

२२ बैशाख २०८०, शुक्रबार १५:००
नेपालगञ्ज : निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट त्यहाँका लागि हुने हवाई सेवा अवरुद्ध भएको थियो । शुक्रबार मौसम खुलेपछि पुनः हवाई उडान शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जले जनाएको […]