नेपालगञ्ज : निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।
गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट त्यहाँका लागि हुने हवाई सेवा अवरुद्ध भएको थियो ।
शुक्रबार मौसम खुलेपछि पुनः हवाई उडान शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जका प्रमुख सुरेश खनालले गत शनिबारबाट मौसममा आएको खराबीले गर्दा दुर्गम पहाडी जिल्लाहरु हुम्ला र मुगुमा उडान बन्द रहेकोमा शुक्रबारबाट हुम्लाको उडान सुचारु भए पनि मुगुको रारामा अझै सुचारु हुन नसकेको बताए ।
उनले शुक्रबारबाट हुम्लाका लागि समिट एअरले उडान सुचारु गरेपछि नेपालगञ्जमा अलपत्र परेका यात्रुहरु गन्तव्यतर्फ जान थालेको र उताबाट पनि यात्रु यता आउन थालेको बताए ।
६ दिनसम्म हवाई उडान नहुँदा करिब दुई सय यात्रु नेपालगञ्जमा अलपत्र परेका थिए । ती मध्ये केही शुक्रबार उडेका छन् भने अरु क्रमशः उड्दै जाने बताइएको छ ।
उडान नहुँदा विशेष गरी उपचारका लागि नेपालगञ्ज आउने विरामीलाई समस्या हुने गरेकोमा उडान सुचारु भएपछि विरामीलाई सहज भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ ।