नेपालगञ्ज : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ ।
मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलवार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । उनले केही दिन अघिदेखि नै मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको बताए ।
बुधवार राती साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको थियो ।
यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ । राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक मंगलवार बिहान दाङ देउखुरी आइपुगेको थियो । ती सामान प्रहरीहरुको सहयोगमा व्यवस्थापन गरिएको छ ।