नेपालगञ्ज : लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आइतवार नेपालगञ्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी बसपार्क पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले लागूपदार्थ कारोवार तथा प्रयोगको अवस्था अहिले भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
दिवसका अवसरमा बाँकेमा सप्ताहव्यापीरुपमा विविध कार्यक्रम गरिएका थिए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागूऔषधविरुद्ध काम गरिरहेका संघसंस्थाले जनचेतनामूलक प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान लगायतका कार्यक्रम गरेका हुन् ।