नेपालगञ्ज जित्नैपर्ने मनोविज्ञानमा एमालेका कार्यकर्ता

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १६:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले कार्यकर्ता तहमा यसपटक मेयर, उपमेयर जित्नैपर्ने पक्षमा नेता कार्यकर्ताले दृढ एकता देखाएको बताएका छन् ।

कार्यकर्ताको एकता र स्वतन्त्र मतको समेत सहानुभुतीबाट आफुहरुले जित्ने मिश्रले बताए । नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहो¥याउने अवसर देखेका एमालेका नेता कार्यकर्ताले यसपटक नजिते फेरी कहिल्यै जितिदैन भन्ने ठानेका छन् ।

नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहोर्याउने गरी निर्वाचन अभियान शुरु गरेको हो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन ।

केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति । उनी भन्छन् –‘संगठन सुदृडीकरण नै हाम्रो मुख्य शक्ति हो । अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मुल्यांकन जनताले गर्दै हुनुहुन्छ । नेपालगञ्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं ।’


एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताकारुपमा चिनिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए ।

नेपालगन्ज लगायत मधेसमा एमालेको लहर छ भने मिश्र एमालेको केन्द्रीय सदस्य छन् जो संगठन बिस्तारमा सक्रियतापूर्वक लागेका छन् । एमालेका सामान्य कार्यकर्तासम्म भिजेका छन् ।

अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा नं. १ का अध्यक्ष उम्मेदवार प्रमोद रिजाल । उनी भन्छन् –‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं । तर यति भनेर हाइसन्चो मान्ने कुरा भएन । जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं ।’

२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहोरयाउने बताउँछन् । यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानी महिलाहरूलाई बुर्का लगाउन तालिबानको निर्देशन

२४ बैशाख २०७९, शनिबार १६:४२
तालिबानले शनिबार अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ। उक्त समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएका हुन्। गत वर्ष अगस्टमा तालिबान सत्तामा आएपछि अफगान महिलाको अधिकारमाथि तालिबान समूहले अंकुश लगाउँदै गएको छ। उनीहरूले १९९६ देखि २००१ को बीचमा सत्तामा आफ्नो पहिलेको भन्दा नरम शासन गर्ने […]