खराब मौसमका कारण जहाज दुर्घटना भएको निश्कर्ष

सदरलाइन संवाददाता १६ जेष्ठ २०७९, सोमबार १७:४६
 

नेपालगञ्ज : आइतवार मुस्ताङको थासाङ २ स्थित सानो सरेमा तारा एयरको जहाज दुर्घटनामा पर्नुको कारण खराब मौसम रहेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।

संसद्को अन्तर्राष्ट्रिय समितिको सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए । घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीको भनाई छ ।

आइतबार बिहान १०ः१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए ।


जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए ।

जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए । साथै भारतीय नागरिक बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए ।

यस्तै, जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।

बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो । थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१६ जेष्ठ २०७९, सोमबार १७:४६
नेपालगञ्ज : दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि वडा खिनैटा निवासी करिब ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो । आज विहान सवा ५ बजे गिरी मर्निङवाक गर्न सडकको […]