नेपालगञ्ज : धेरैको चासाको विषय बनेको क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा क्रिकेटर लामिछानेले सफाइ पाएका छन् । काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले निर्दाेष ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तोकेको थियो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्दै फैसला सुनाएको हो ।
आफूलाई बलात्कार गरेको भन्दै गौशला– २६ उपनामकी एक किशोरीले २०७९ भदौ २१ मा गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना बढेको छ । आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेट खेल्नको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सन्दीपको विश्वकपबारे निर्णय गर्ने आजै क्यानको बोर्ड बैठक बस्दैछ ।