रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ ।
रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो ।
पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन् ।
अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए ।
सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको प्रमुख यादवले जानकारी दिए ।
यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको यादवको भनाइ छ ।
फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने यादवले बताए ।
यी ४ ठाउँमा ठेकेदारले फोरजी सेवाका लागि उपकरण जडानको जिम्मा लिएको छ । ठेकेदारले उपकरण जडान गरेर सफल परीक्षणपछि दूरसञ्चारलाई हस्तान्तरण गर्नेबित्तिकै फोरजी सेवा सुचारु गरिने यादवले जानकारी दिए ।
यसैगरी निर्माणाधीन अवस्थामा रहेका टावरका लागि पनि छिटै निर्माण सम्पन्नका लागि ठेकेदारलाई ताकेता गरिराखेको पनि यादवले बताए ।
नयाँ निर्माणाधीन अवस्थामा रहेको सिस्ने–१ को सिस्ने, सिस्ने–४ को दादिङ, सिस्ने–६ को खोपीचार, भूमे–६ को महत रहेका छन् ।