सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको विहीवारदेखि शुरु भएको छैठौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको छ । विाधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीतिमा सभामा छलफलपछि पारित भएको हो ।
२ वटा नीति पारित भएसंगै बैठक शुक्रवार विहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । सभाको शुरुमै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षमा भए गरेका कार्य प्रगतिबारे सभालाई जानकारी गराएका थिए ।
शुक्रवार हुने गाउँसभामा शिक्षा ऐन, मानव बेचविखन विरुद्धको नीति, बालविवाह विरुद्ध रणनीति प्रस्तुत हुने खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले बताए । गाउँसभाले योजना संशोधनलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
