नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १७:४६
 

नेपालगञ्ज : आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगञ्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ ।

यति एयरलाइन्सले शुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगञ्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु गरिएको यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलीप कार्कीले बताए ।

उनले निकै उत्साहका साथ शुरु भएको उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर प्रस्थान गरेको र शनिबार नै सो जहाज नेपालगञ्ज फर्कने कार्यक्रम रहेको बताए ।


जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर गएका छन् ।

उडान शुरु हुनुअघि आयोजना गरिएको एक संक्षिप्त कार्यक्रममा प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा दिने बताइन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षाकोठामै छात्रा बर्बराउन थालेपछि पठनपाठन प्रभावित

५ फाल्गुन २०८०, शनिबार १७:४६
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका –१ बर्दापुरमा रहेको सिद्धेश्वर महादेव माध्यामिक विद्यालयका छात्राहरु कक्षा कोठामा नै चिच्याउने, बर्बराउने, अर्ध चेत र अचेत हुनेलगायतका लक्षणहरु देखिएपछि पठन पाठन प्रभावित भएको छ । बिद्यालयको कक्षा ७ मा पढ्ने ४ जना र कक्षा १० मा पढ्ने एक जना छात्रामा चिच्याउने, बर्बराउने, अर्ध […]