सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न विधि र प्रक्रिया अगाडि बढाएको छ । गत वर्षदेखि शैक्षिक सुधारका लागि ३२ बुँदे प्रतिवद्धता गरेर अगाडि बढेको खजुरा क्षेत्रभित्रका सामुदायिक, संस्थागत र मदरसा विद्यालयले समीक्षा गर्दै अगाडि बढेका छन् । खजुरा क्षेत्रभित्र रहेका सामुदायिक, संस्थागत र मदरसा विद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठक बस्ने गरेको छ ।
शैक्षिक सुधारका लागि गरिएका प्रयास, सिकाई, उपलब्धी, भोगाई र अगामी दिनमा सुधार गर्नु पर्ने विषयजस्ता कुरालाई गहन रुपमा लिने गरिएको छ । शुक्रवार सम्पन्न बैठकले आगामी जेठ १६ र १७ गते ज्ञानोदय नमूना मावि खजुरामा शैक्षिक महोत्सव गर्ने निर्णय सार्वजनिक गरिएको थियो । शैक्षिक डायरी विमोचन, २०७५ सालको सिकाई उपलब्धीको समीक्षा, कक्षा ५ स्तरमापन परीक्षा नतिजा विशलेषण २०७५, शैक्षिक प्रतिवद्धताको समीक्षा गरिएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आफ्नो दायित्व र कर्तव्यलाई सकारात्मक ढंगबाट प्रयोग गरिनु पर्ने बताए । शैक्षिक सुधारका लागि गाउँपालिकाले गरेका विभिन्न प्रयासबारे जानकारी दिँदै उनले गत वर्ष गरिएको शैक्षिक सुधारको प्रतिवद्धतामा टेकेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले शिक्षा समिति, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीचको समन्वयबाटै शैक्षिक सुधारको शुरुवात हुने बताए । अब गाउँसभाले छिट्टै शिक्षा ऐन पारित गरेर लागू गरिने बताउँदै प्रमुख कक्षपतिले सामुदायिक विद्यालय र संस्थागत विद्यालयवीच कुनै विभेद नगरिने बताए ।
सोही कार्यक्रममा राप्तीपारी सरुवा भएका विद्यालय निरीक्षक विश्वराज ढकाललाई विदाई र खजुरा पालिकामा आएका टिकानाथ गोसाईलाई स्वागत गरियो । विद्यालय निरीक्षक गोसाई, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, स्रोत व्यक्ति टंकनाथ दाहाललगायतले शैक्षिक सुधारमा गरिएका प्रयास र आगामी रणनीतिक योजनाबारे जानकारी दिए ।